रुसको पिस्कोभ सहरस्थित विमानस्थलमा ड्रोन आक्रमण

Nepal Cover
१३ भाद्र २०८०, बुधबार
image

काठमाडौं । रुसको उत्तर पश्चिमी सहर पिस्कोभस्थित एउटा विमानस्थलमा भएको ड्रोन आक्रमणमा चारवटा मालबाहक विमान ध्वस्त भएका छन् । मानवीय क्षतिबारे भने कुनै जानकारी प्राप्त नभएको समाचारमा जनाइएको छ ।

रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको जनाएका छन् । रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुई वटा विमानमा आगो लागेको उल्लेख गरेको छ ।

इस्टोनियासंगको सीमा नजिकै पर्ने पिस्कोभ सहर युक्रेनबाट करिब ६ सय किलोमिटरको दूरीमा पर्दछ । उक्त आक्रमणमा आफ्नो संलग्नता रहे/नरहेकोबारे युक्रेनले केही प्रतिक्रिया नजनाए पनि मस्कोलगायत रुसका अन्य सहरमा यसअघि भएका ड्रोन आक्रमणमा झैं उसको हात रहेको आशंका गरिएको छ ।

रुस-युक्रेन युद्ध लम्बिदै जाँदा युक्रेनले रुसभित्र ड्रोन आक्रमण गर्ने शृंखला बढाएको छ । युक्रेनले यसको औपचारिक जिम्मेवारी नलिए पनि केही समयअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी क्षेत्रभित्र आक्रमण हुनु अवश्यम्भावी, प्राकृतिक र जायज प्रक्रिया रहेको बताएका थिए ।

केही दिनअघि मात्रै सेन्ट पिटर्सबर्ग सहर नजिकै युक्रेनले गरेको ड्रोन आक्रमणमा लामो दूरीको मार हान्ने रुसी बम वर्षक विमान ध्वस्त भएको थियो। यस्तै गतसाता बेलगोरोड क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जना मारिएका थिए ।

राजधानी मस्कोका भवनहरुमा पनि यसअघि थुप्रै पटक ड्रोन आक्रमणहरु भइसकेका छन् भने राष्ट्रपति कार्यालयलाई लक्षित गरेरसमेत ड्रोन आक्रमणको प्रयास भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज ५ सय ५३ दिन पुगेको छ । यस युद्धमा हजारौं मानिसले ज्यान गुमाएका छन् । साथै लाखौं विस्थापित भएका छन् ।