राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले आफ्नो निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मुल्याकंन अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सरकारले संविधानको व्यवस्था अनुसार भूमिहीन दलितलाई जमिन दिन नसकेको उल्लेख गरेको हो ।
‘भूमिहीन दलितलाई एकपटकका लागि जमिन उपलब्ध गराउने संवैधानिक प्रतिवद्धता कार्यान्वयनसँग सम्बन्धित भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ (क) को कार्यान्वयन गर्ने कुरामा सरकार चुकेको देखिन्छ’, प्रतिवेदनको निष्कर्ष र सुझाव खण्डमा भनिएको छ ।
सरकारले २०७२ असोज ३ गते संविधान जारी गर्दा मौलिक हकहरु ३ वर्षभित्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको थियो । तर संविधान जारी भएको ८ वर्ष हुन लाग्दा पनि दलितको हक अन्तर्गत समावेश भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्न नसकेको हो ।
‘त्यसको आवश्यकता, मर्म र फरक प्रबन्ध गर्नुको औचित्यलाई पूर्ण सम्बोधन गर्न नसकिएको स्पष्ट छ । निर्धारित तीन वर्ष अवधि व्यतित भइसकेको र कार्यप्रगतिको तथ्यांकको स्थिति हेर्दा यो देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।
संविधानको धारा ४० को उपधारा ५ मा ‘राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एक पटक जमिन उपलब्ध गराउनुपर्ने’ व्यवस्था छ । यसलाई कार्यान्वयन गर्न बनेको भूमि सम्बन्धी ऐनको दफा ५२(क) मा नेपाल सरकारले भूमिहीन दलितलाई एक पटकका लागि तोकिए बमोजिम तीन बर्षभित्र जमिन उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
सरकारले राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ अनुसार भूमि आयोग गठन गरी भूमिहीनलाई जग्गा उपलब्ध गराउने काम गरिरहेको छ । समितिमा उपलब्ध विवरण अनुसार २०७९ सालको अन्त्यसम्म ४९४ जना भूमिहीन दलितले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन् ।
‘ऐन बमोजिम तीन वर्षभित्र भूमिहीन दलितलाई एक पटकका लागि जमिन उपलब्ध गराउने व्यवस्था कार्यान्वयन नभएको हुँदा उक्त व्यवस्थामा सरकारको धारणा माग गरी अगाडि बढ्ने’, समितिले आफ्नो प्रतिवेदनमा भनेको छ ।