पुराना कर्मचारीको सरुवा गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

  Sampatti News

September 1, 2023

नेपालगन्ज — स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले एउटै व्यक्ति लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नपाउने भन्दै ती कर्मचारीलाई अन्यत्र सरुवाको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्  ।

एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाइएको र यो विषयमा व्यवस्थापन समिति गम्भीर भएर सरुवा प्रक्रियालाई अघि बढाउनु पर्ने उनले बताए। बिहीबार भेरी अस्पतालको अवलोकन गर्दै मन्त्री बस्नेतले उक्त अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेट छुट्याउने बताए। अस्पतालको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिए । गरिब तथा विपन्न परिवारका बिरामीहरुले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनु पर्नेमा उनले जोड दिए । भेरी अस्पतलाल पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रुपमा चिनिएको छ ।

स्तरोन्तिका लागि मन्त्रालय आन्तरिक र बाहृय दुवै पक्षसँग व्यवस्थापनका लागि धेरै शीर्षकमा बजेट पठाएको छ। उनका अनुसार अझै व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट पठाउन मन्त्रालय तयार रहेको छ।

प्रकाशित मिति:September 1, 2023