एसिया कपमा आज नेपालले पहिलो पटक भारतसँग खेल्दै

Nepal Cover
१८ भाद्र २०८०, सोमबार
image

काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो ३:१५ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ ।

आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् ।

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ ।

त्यस्तै, भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ ।

एसिया कप २०२३ का लागि नेपाली टोली: कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, प्रतिस जीसी, अर्जुन साउद, मौसम ढकाल, किशोर महतो ।