विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ ओटा चार्जिङ स्टेशन

  Sampatti News

September 6, 2023

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं स्थित प्राधिकरण परिसरमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रम गर्दै प्राधिकरणले देभरका विभिन्न ठाउँमा चार्जिङ स्टेसन निमार्ण गरेको जानकारी गराएकाे हाे।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने बताइएको छ ।

प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशनबाट चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयूभिमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यससँगै अब देशभर विद्युतीय सवारीसाधन संचालनमा सहजीकरण भएको बताए । ‘हामीले विद्युत खपतमा निरन्तर जोड दिइरहेका छौं । यसलाई सहजीकरण गर्न देशभर ५१ चार्जिङ स्टेशन संचालनमा ल्याएका छौं’ घिसिङले भने । उनका अनुसार प्राधिकरणले थप ११ वटा चार्जिङ स्टेशन निर्माण कार्य गरिरहेको छ । उनले निजी क्षेत्रलाई पनि सहजीकरण गर्ने गरी नीति संशोधनको तयारी गरिएको बताए ।

हाल प्राधिकरणले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनमा २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा साना-ठूला कारहरु चार्ज गर्न मिल्ने जनाइएको छ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति:September 6, 2023