September 8, 2023
काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएकी ५० वर्षीय एक माया पुलामी मगर सुनसरी घर भएका ४० वर्षीय सन्दीप कुमार चौधरी र धादिङ घर भएका ४५ वर्षीय शालिकराम अर्याल रहेका छन् ।
उनीहरूमध्ये मगरले १ जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक २ लाख ५६ हजार रूपैयाँ ठगी गरेको, चौधरीले १ जनालाई फ्रान्स पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको र अर्यालले १ जनालाई क्रोसिया पठाई फुड डेलिभरीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाडौं नयाँ बसपार्कबाट बुधबार, चौधरीलाई काठमाडौं नयाँ बानेश्वरबाट बिहीबार तथा अर्याललाई काठमाडौं टोखा नगरपालिका ७ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति:September 8, 2023