July 26, 2020
काठमाडौँ। सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइ आजका लागि पेसी तोकिएको छ।
पत्नी गीता ढकालको हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालत र तत्कालीन ललितपुर पुनरावेदन अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय तोकेकामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले साढे ११ वर्ष कैद घटाउँदै उनलाई बिहीबार जेलमुक्त गराएको थियो।
सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।
पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अब ३ जना न्यायाधीशबाट सुनुवाइ हुनेछ।
पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ। संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ।
प्रकाशित मिति:July 26, 2020
November 23, 2024