September 21, 2023
काठमाडौं– सरकार र आन्दोलनरत शिक्षकहरुबीच बिहीबार भएको वार्ता विना निष्कर्ष सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा सकारात्मक छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको शिक्षक नेताहरुले जनाएका छन्।
बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।
गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारी उपस्थित थिए।
सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी थिए।
छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए। मन्त्री श्रेष्ठले शिक्षकहरूको जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको गिरीले जानकारी दिए।
छलफल सकारात्मक भएपनि आन्दोलन रोक्नेबारेमा निष्कर्ष ननिस्किएको र अर्को बैठक छिट्टै बस्नेगरी आजको बैठक टुंगिएको छ,’ उनले बताए।
प्रकाशित मिति:September 21, 2023
November 25, 2024