नेप्सेमा दाेहाेराे अंककाे गिरावट

Nepal Cover
७ आश्विन २०८०, आईतवार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १९.४२ अंकले घटेर दुई हजार १० दशमलब ३५ विन्दुमा बन्द भएको हो ।  

त्यस्तै, आज दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

चार कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । जसमा स्वरोजगार लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावर लिमिटेड रहेको छ । यी कम्पनीको शेयरूमल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ९.७३ प्रतिशतले बढेको छ । 

आज शुभम् पावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस बैंकको शेयर कारोबार बढेको हो। सो बैंकको यस दिन १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको करिब १० करोडको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।     

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।