नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि सुधार 

  Sampatti News Online

September 26, 2023

काठमाडौं । साताको पहिलो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से परिसूचक मंगलबार भने बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १८.४५ अंक बढेर २०२२.९१ विन्दुमा पुगेको छ। यस दिन बजार बढ्नलाई १२ करोडको सीमा संशोधन हुने हल्लाले सहयोग गरेको छ। लामो समयदेखि बजारलाई संकुचित पारिरहेको १२ करोडको सीमा हटाउन चौतर्फि दबाब सिर्जना भएपछि राष्ट्र बैंकले सो सीमा संशोधन गर्ने हल्ला बजारमा फैलिएको छ। सोही हल्लाले यस दिन बजारलाई बढ्न टेवा दिएको हो।

आज नेप्सेमा कारोबार रकम पनि बढेको छ । सोमबार एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १९० कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

पूँजीबजार चलायमान हुन नसकेका बेला सोमबार बेलुकी केन्द्रीय बैंकका गभर्नर र पूँजीबजार नियामक प्रमुखबीच भेटवार्ता भएको थियो । गभर्नर अधिकारीलाई भेट्न हमाल सोमबार राष्ट्र बैंक नै पुगेका थिए । भेटघाटका क्रममा अधिकारी र हमालबीच बैंकले बढाइरहेको ब्याजदर, शेयर धितो कर्जा सीमा, प्राइभेट इक्विटी र भेञ्‍चर क्यापिटल लगायतबारे छलफल भएको खबर बाहिरिएको थियो । बैंक तथा वित्त क्षेत्रका यी मामिला केन्द्रीय बैंक र पूँजीबजार नियामक दुबै जोडिने क्षेत्र हो । 

अधिकारी र हमालबीच शेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाउने विषयमा पनि कुराकानी भएको खबर बाहिरिएपछि शेयर कारोबारी र लगानीकर्ताहरू उत्साहित देखिएका हुन्‌ । अहिले शेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म कर्जा दिने गरेका छन्‌ । यो कर्जाको आकार बढाउँदा बैंक तथा वित्तीय संस्थामा रहेको तरलता ९लगानीयोग्य रकम० परिचालन हुने र शेयर बजार बढ्ने दाबी गरिएको छ ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको साढे ७ करोडको शेयर कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.१८ प्रतिशत घटेको छ।

प्रकाशित मिति:September 26, 2023