उपचारसम्बन्धी गुनासो भए चिकित्सकमाथि आक्रमण होइन काउन्सिलमा उजुरी दिनु

Nepal Cover
९ आश्विन २०८०, मंगलवार
image

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले बिरामीको विषयलाई लिएर चिकित्समाथि आक्रमण गर्नु दुःखद भएको बताएको छ। 

बिरामीहरुको स्वास्थ्य उपचार गर्ने शिलशिलामा बिरामीहरुको  निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटना प्रति नेपाल मेडिकल काउन्सिलको गम्भिर रुपमा ध्यान आकर्षण भएको समेत जनाएको छ।

साथै काउन्सिलले उपचारसँग सम्बन्धित विषयमा काउन्सिलमा उजुरी गर्ने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि नै आक्रमण गर्नु दुःखद भएको जनाएको छ।  

‘उपचारसँग सम्बन्धित कुनै घटना घटेमा सो बारे नेपाल मेडिकल काउन्सिलमा उजुरी नगरी चिकित्सक उपर भौतिक आक्रमण गर्ने कार्यले कसैलाई पनि हित नगर्ने हुँदा पीडित पक्षले यस काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असर बारे जानकारी गराउन तथा स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउनु हुन सम्बन्धित सबै पक्षलाई नेपाल मेडिकल काउन्सिल अपील गर्दछ’ मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। 

स्वास्थ्यकर्मीले लापरबाही गरेको लागेमा बिरामीका पक्षले कस्तो प्रक्रिया अपनाउन सक्छन्?

कुनै पनि उपचारका क्रममा चिकित्सकीय त्रुटि भएदेखि डाक्टरको हकमा मेडिकल काउन्सिल र नर्सको हकमा नर्सिङ काउन्सिलमा उजुरी हाल्न पाउने व्यवस्था रहेको छ।

उक्त उजुरी सही छ/छैन, उपचार ठिक छ/छैन, काम सही तरिकाले गरेको छ/छैन हेरेर कारबाही अगाडि बढाइने काउन्सिलका अध्यक्ष डाक्टर भगवान् कोइराला बताउँछन्।

मेडिकल काउन्सिल ऐनले चिकित्सकलाई कानुनी कारबाहीको दायरामा ल्याउने व्यवस्था गरेको छ।

त्यसबाहेक कुनै पनि फौजदारी लापरबाही भएर बिरामीको मृत्यु भएको वा अङ्गभङ्ग भए त्यसमा फौजदारी संहिता आकर्षित हुन्छ।

उक्त कानुन अनुसार बिरामीका आफन्तले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको सचिवालयमा उजुरी दिए कानुनी प्रक्रिया अघि बढ्ने डाक्टर कोइराला बताउँछन्।

त्यो प्रक्रियामा प्रहरी, मेडिकल काउन्सिल र महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि पनि रहने व्यवस्था छ।