September 27, 2023
बगदाद – उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ।
उत्तरी इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागिमा दुलहा र दुलहीसमेत मृत्यु भएको छ। भोज सुरु भएर सयौँ मानिसले उत्सव मनाउन थालेका बेला आगलागि सुरु भएको थियो ।
निनेभ प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार राति यो घटना भएको बताइएको छ । के कारणले आगलागी भएको भन्ने यकिन नभए पनि प्रारम्भिक रिपोर्टमा आतिशबाजी पछि आगलागी सुरु भएको उल्लेख छ ।
इराकी समाचार एजेन्सी निनाले दर्जनौँ अग्नि नियन्त्रकहरू आगलागी नियन्त्रणमा खटिएको तस्बिर सार्वजनिक गरेको छ । भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको र यसले गर्दा भवनको छत खसेको आशङ्का गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार राति १०ः४५ बजे आगलागी सुरु भएको थियो । इराकका प्रधानमन्त्रीले यस दुखद घटनाबाट प्रभावितहरूको राहत र उद्धारका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएका छन् । सो क्षेत्रका गभर्नरले मृतक र घाइतेको यकिन सङ्ख्या आइनसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।
प्रकाशित मिति:September 27, 2023