मिड सोलु हाइड्रोपावर कम्पनीको आईपीओ आज बाँडफाँट हुँदै

  Sampatti News Online

September 27, 2023

मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज असोज १० गते बुधबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले असोज १० गते साँझ ५ बजे बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक करोड ५१ लाख २२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.११ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.८७ वर्ष रहेको छ । आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति:September 27, 2023