विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा, करोडौं कर छलेको आशंका

  Sampatti News Online

September 27, 2023

काठमाडौं- उद्योगपति विनोद चौधरीको भारतको जयपुरस्थित कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको छ। चौधरीको त्यहाँस्थित सिजी फुड इन्डिया प्रालिमा आयकर विभागका अधिकारीले छापा मारेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पहिलो चरणमा बुधबार जयपुरस्थित कम्पनीमा विभागले छापा मारेको हो ।

भारतीय सञ्चारमाध्यमहरूले जयपुरस्थित चौधरीको सिजी फुड इन्डिया प्रालि सहित तीन कम्पनीमा छापा मारेको खबर सार्वजनिक गरेका छन्‌ । दौसा र सिकरमा पनि विभागले छापा मारेको खबरहरूमा उल्लेख छ ।

त्यहाँको आयकर विभागले गोप्य सूचनाका आधारमा छापा मारेको जनाएको छ । चौधरीले उद्योग र व्यवसायको आवरणमा भारतमा करोडौं कर छली र गैरकानूनी सामग्री ओसारपसार तथा बेचबिखन गरेको हुनसक्ने आशंकमा छापा मारिएको उल्लेख छ ।

भारतका अन्य शहरहरूमा रहेका चौधरीका कम्पनीमा पनि छापा हान्न थालिएको छ । भारतको आयकर विभागले विशेष अप्रेसन नै चलाएर एकसाथ छापा हान्ने गर्छ । चौधरीका कम्पनीमा छापा हान्ने कारबाहीको नेतृत्व गुवाहटीका आयकर अधिकारीहरूले गरिरहेका छन्‌ । 

चौधरी सम्पति यसवर्ष मात्रै ४० अर्ब रुपैयाँ बढेको छ । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको सूचीमा चौधरी १६४७औं स्थानमा छन्‌ । उनको कुल सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको उल्लेख छ ।

चौधरीमाथि नेपालमै विभिन्न गैरकानूनी बाटोबाट राज्यस्रोतको अवैध दोहन गरिरहेको आरोप छ । उनी नेपाली कांग्रेसका सांसद्‌ पनि हुन्‌ ।

प्रकाशित मिति:September 27, 2023