प्रमुख प्रशासकीय अधिकृत र प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

September 27, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत राजस्व प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन, संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा बदनियतपूर्वक राजस्व छली गरेको आरोपमा तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित ४ जनाविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

राजस्व चुहावटमा संलग्न रहेको आरोपमा आयोगले चौधरीसहित त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार राजेश बछारविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

तत्कालीन नगरप्रमुख चौधरी, कार्की र ढकालले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ राजस्व चुहावट गरेको आयोगको दाबी छ । यस्तै ठेकेदार बछारले १८ लाख ४४ हजार १७७ रुपैयाँ हिनामिना गरेको आयोगको दाबी छ ।आयोगले नगरप्रमुख चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्की र तत्कालीन राजस्व शाखा प्रमुख ढकालविरुद्ध जनही १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ र बछारविरुद्ध ३६ लाख ८८ हजार ३५५ रुपैयाँ असुल उपरको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति:September 27, 2023