राष्ट्र बैंकले घटस्थापनादेखि नयाँ नोट वितरण गर्ने

  Sampatti News

September 28, 2023

काठमाडाैं । नेपाल राष्ट्र बैंकले असोज २८ गते घटस्थापनादेखि बजारमा नयाँ नोट पठाउने तयारी गरेको छ ।

केन्द्रीय बैंकका मुद्रा व्यवस्थापन विभागका अनुसार नोट वितरणका लागि आन्तरिक गृहकार्य भइरहेको र घटस्थापनादेखि आरम्भ गर्ने तयारी भएको छ । केन्द्रीय बैंकका विभिन्न कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूबाट आएको मागअनुसार कति नोट वितरण गर्ने त्याे भने तय हुन बाँकी रहेकाे छ ।

विगतमा जस्तै प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नोट वितरण गरिने राष्ट्र बैंककाे तयारी छ । यसपालि केन्द्रीय बैंकले कार्यालयहरूमा क्युआर कोडको समेत व्यवस्था गर्ने र यसले नोट वितरणलाई सहजता दिने राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७९/८० सम्ममा ६ खर्ब ४० अर्ब आठ करोड रुपैयाँ बराबरमा नोट चलनचल्तीमा छन् । त्यस्तै, दुई खर्ब १६ अर्ब ५४ करोड ९२ लाख ४९ हजार रुपैयाँको नोट केन्द्रीय बैंकसँग मौज्दातमा छ । चाडबाडमा १० अर्बभन्दा बढी रकम व्यक्तिको हातमा पुग्ने अनुमान छ । पछिल्लो समय डिजिटल कारोबारको बढ्दो प्रयोगले नोटको वितरणमा कमी आउँदै जानेसमेत केन्द्रीय बैंकको बुझाइ छ ।

प्रकाशित मिति:September 28, 2023