एसियाड क्रिकेटमा आज नेपाल र भारतले खेल्ने

  Sampatti News

October 3, 2023

काठमाडाैं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल र भारत आज भिड्दैछन् ।

नेपाली समय अनुसार बिहान पौने ७ बजे दुवै टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ ।  समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो । भारतले सिधैं अन्तिम ८ मा स्थान पाएको थियो । 

नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्समाथि शानदार जितसहित  नकआउट चरणमा स्थान बनाएको हो । चीनमा नेपाल उत्कृष्ट लयमा देखिन्छ । 

कुशल मल्ल, कप्तान रोहित पौडेलसहितका खेलाडी उत्कृष्ट फर्ममा देखिन्छन् । अघिल्लो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमलाई हान्जाओको पिचले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । 

युवा स्टार खेलाडीलाई समावेश गर्दै एसियन गेम्समा पठाएको भारतले स्वर्ण पदकलाई मुख्य लक्ष्य बनाएको छ । पछिल्लो संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा उम्दा प्रदर्शन गरेका खेलाडीलाई भारतले टिममा स्थान दिएको छ । 

दुवै टिम जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछन् । नेपालले समूह चरणका दुवै खेलमा २ सयभन्दा बढी रन बनाएकाले भारतविरुद्ध उत्कृष्ट ब्याटिङको अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:October 3, 2023