भूकम्प पीडितलाई सरकारले ५० हजार रुपैयाँ दिने

  Sampatti News Online

October 6, 2023

काठमाडौं । सरकारले भूकम्पबाट घर पूर्ण रुपमा क्षतिभएका भूकम्प पीडितलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् ।

यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च दिने भएको छ । राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिनेछ भने थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।

भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ । यस्तै भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्‍यु भएकाको परिवारलाई तत्काल २ लाख सहयोग दिने भएको छ । सरकारी कार्यालय, सामुदायिक भवन, स्कूल आदी क्षति पुगेका संरचनाहरूको यथाशीघ्र पुनः निर्माण गरिनेसमेत जनाइएको छ ।

भूकम्पले भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुननिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति:October 6, 2023