रातारात ओली भैँसेपाटी गौतम निवास छलफलमा सामेल

Nepal Cover
१४ श्रावण २०७७, बुधबार
image

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार साँझ भैँसेपाटीस्थित गौतम निवासमा छलफल भएको छ।

नेकपालाई कुनै हालतमा फुट्न नदिने विषयमा केन्द्रित भई छलफल भएको स्रोतले जनाएको छ। अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा छलफल भएको थियो। प्रधानमन्त्री ओली परिवारका सदस्यसहित गौतम निवास पुगेका हुन्।

छलफलमा प्रधानमन्त्रीसँगै पार्टी महासचिव विष्णु पौडेल पनि उपस्थिति थिए। भैँसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेको छ। तर त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ।

पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गरे। विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरू सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनुपर्ने सुझाव गौतमले दिए।

नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमले राखेको ६ बुँदे प्रस्ताव सार्वजनिक भएसँगै प्रधानमन्त्री ओली भेट्न पुगेका हुन्। बैठक सकारात्मक रहेको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले बताएका छन्।