काभ्रेमा गाडी दुर्घटना: एकको मृत्यु, चारजना घाइते

  Sampatti News

October 18, 2023

काठमाडौं । काभ्रेमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आज बिहान ६:४५ बजे जिल्लाको पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलाई ठक्कर दिई भाग्ने क्रमम इलेक्ट्रिक गाडी सोही स्थानको सडकको किनारको नालीमा खसेर दुर्घटना हुँदा गाडी सवार ३ जना र मोटरसाइकलमा सवार २ जना गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा घाइते ५ जनालाई उपचारका लागि जिल्ला स्थित धुलिखेल अस्पतालमा लगिएको थियो । घाइतेमध्ये गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ की २० वर्षीया रमिला बुढाथोकीलाई उपचारका क्रममा धुलिखेल अस्पतालले बिहान ७:३५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बस्ने ५१ वर्षीय टंकप्रसाद दाहाल, मोटरसाइकलमा सवार इलाम जिल्लाको थाकथुम गाउँपालिका वडा नं ३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएका छन् ।

प्रकाशित मिति:October 18, 2023