पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ 

  Sampatti News Online

October 25, 2023

जनकपुरधाम । जनकपुरधामस्थित रेल्वे स्टेशन नजिकै रहेको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छन् ।

 पक्राउ पर्नेमा भारतको लखी शेराई जिल्लाको पप्पु सहनीको अन्दाजी १६ वर्षीया छोरी पुजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका-१ रेल्वे स्टेसनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो।

सूचनाका आधारमा खटिएका रेल्वे सशस्त्र प्रहरीले उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ-जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद गरेको छ ।

मङ्गलवार साँझ पौने आठ बजेतिर उनलाई मन्दिरबाट नियन्त्रणमा लिएको रेल्वे सुरक्षा बेशका प्रहरीले  जानकारी दिए। उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अनुसन्धान भइरहेको  रेल्वे सुरक्षा बेश जनकपुरधामले जानकारी दिएको छ ।

प्रकाशित मिति:October 25, 2023