October 27, 2023
त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आज शुक्रबार नेपाल र यूएईबीच भएको फाइनल खेलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ । नेपालले अब केही बेरमा यूएईविरुद्ध बलिङ गर्नेछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६२ रन बनाएको छ ।
नेपालले ६ ओभरको पावर प्लेमा १ विकेटमात्र गुमाएर ५९ रन जोड्दै उत्कृष्ट सुरुआत गरेको थियो । आसिफ १२ बलमा ७ रन बनाई आउट भए । सातौं ओभरमा कुशल २ बल खेली १ रनमै आउट भए । दुवैलाई आयान अफजल खानले बोल्ड गरे । आयान र आर्यन्श शर्मा यूएईको यु-१९ टोलीमा रहेकाले नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा पहिलो खेल खेलिरहेका हुन् । आयानको कप्तानीमा रहेको यूएई टोली एसीसी यू १९ प्रिमियर कपको फाइनलमा नेपालसँग पराजित भएको थियो । देव्रेहाते स्पिनर आयान १८ विकेट लिदैं यु-१९ प्रिमियर कपमा उत्कृष्ट बलर बनेका थिए ।
कुशलले २८ बलमा अर्धशतक बनाए । त्यसको अर्को बलमा उनी आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले १७ बलमा १८ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाई आउट भए । गुल्शन झाले ५ रनमात्र जोड्न सके । करण केसीले १७ बलमा २ चौका र १ छक्कासहित अविजित २३ रन बनाएपछि नेपालको स्कोर केही मजबुत बनेको हो ।
दुई सुन्दर प्रहार गरेका सोमपाल कामीले ८ बलमा १३ रन बनाए । सोमपाललाई पनि आयानले बोल्ड गरे । आयानले ४ ओभरमा १९ रनमात्र खर्चे । जाहुर खान र अलि नासिरले २/२ विकेट लिए । जाहुरले ४ ओभरमा ३६ र नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।
नेपालले डबल रान्ड रोबिनको खेलमा सबै चार खेल जितेर फाइनल यात्रा पक्का गरेको थियो । यूएईले एक खेलमा मात्र विजय हात पारे पनि नेपालसँग फाइनल खेल्न योग्य बनेको थियो । यूएईलाई बुधबार अन्तिम खेलमा हङकङले ६३ रनले पराजित गरेको थियो ।
प्रकाशित मिति:October 27, 2023
November 22, 2024