महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

  Sampatti News Online

October 27, 2023

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । 

जनवरी २०१७ मा पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो। भ्रमण क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि छ। उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखरा भ्रमण गर्ने छन्।

महासचिवका साथमा संयुक्त राष्ट्रसंघको शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका अन्य अधिकारी र नेपालस्थित राष्ट्रसंघको टोली पनि सहभागी हुनेछ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौँबाट प्रस्थान गर्नेछन्।

प्रकाशित मिति:October 27, 2023