टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुरमाथि शानदार जित

  Sampatti News Online

October 30, 2023

काठमाडौँ। नेपालले आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो ।

ओपनर कुशल भुर्तेलको सानदार अर्धशतकमा नेपालले टि–२० विश्वकप छनौटमा विजयी सुरुवात गरेको छ। जितका लागि सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ बलमा मात्रै २ विकेट गुमाएर पूरा गर्यो।

नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ठ ब्याटिङ गरे। ५ रन आवश्यक हुँदा आउट हुनुअघि कुशलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन बनाए। आशिफले २६ बलमा २७ रन जोडेर आउट भए।

कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाउँदा कुशल मल्लले एक बलमा ६ रन जोड्दै अविजित रहे।सिंगापुरका अनन्था कृष्ण र अक्ष पुरीले एक एक विकेट हात पारे।

त्यसअघि सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।

सिंगापुरका लागि तीन ब्याटरले सम्मानजनक पारी खेले। रोहन राङ्ग्राजनले ३० बलमा सर्वाधिक ४६ रन बनाउँदा मनप्रित सिंहले २६ बलमा २४ रनको योगदान गरे।

रोहनले ९ चौका र १ छक्का प्रहार गरे भने सिंहले ३ चौका प्रहार गरे। आर्यभिर चौधरी २६ बलमा ३७ रन बनाउँदै नटआउट रहे। उनले ५ चौका प्रहार गरे। बाँकी ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। ३ ब्याटर शून्य रनमै पेबेलियन फर्किए।

नेपालका लागि अभिनाश बोहराले ३ तथा करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले समान २र२ विकेट लिए। करणले ४ ओभरमा ३६, अभिनासले ४३, सन्दीपले १८ र गुल्शनले २१ रन खर्चिए। ४ ओभरमा २१ रन खर्चिएका सोमपाल कामीभने विकेटबिहिन भए।

प्रकाशित मिति:October 30, 2023