यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट

  Sampatti News Online

November 3, 2023

काठमाडौँ । यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो ।

दश वर्षको पर्खाइपछि राष्ट्रिय क्रिकेट टोली विश्वकपमा पुगेको हो। अब नेपाल अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा सहभागी हुनेछ।

यसअघि सन् २०१४ मा पारस खड्का नेतृत्वको नेपाली टोलीले पहिलो पटक बाङ्ग्लादेशमा विश्वकप खेलेको थियो।

शुक्रवारै भएको अर्को सेमिफाइनल खेलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनल पुगेको छ। अब फाइनलमा नेपाल र ओमानको पुनः भेट हुनेछ।

टस हारेको नेपालले पहिले फिल्डिङ गर्दै स्तरीय बलिङ प्रस्तुत गर्‍यो र विपक्षीलाई १३४ रनमा रोक्न सफल भयो।

मुलपानी मैदानमा ब्याटिङमा अभ्यस्त बन्न बाँकी यूएईका खेलाडीहरूलाई सोमपाल कामी, कुशल मल्ल र सन्दीप लामिछानेले ठूलो स्कोर बनाउनबाट रोकेका थिए।

जबाफमा नेपालले रनको लागि हतारो गरेन र निकै धैर्यपूर्ण ब्याटिङ गर्दे टोलीलाई जिततिर डोहोर्‍यायो।

नेपालले १७.१ ओभरमा दुई खेलाडी गुमाउँदै १३५ रन बनायो। त्यसका लागि आशिफ शेखको अर्शधतकीय पारी महत्त्वपूर्ण रह्यो।

पहिलो ओभरदेखि ब्याटिङ गर्न आएका ओपनर आशिफ शेखले नेपाललाई नजिताएसम्म मैदान छोडेनन्।

आफ्नो पार्टनर कुशल भुर्तेल तेस्रो ओभरमा ११ रन बनाएर आउट भएपछि आशिफ क्रिजमा निकै होसियार रहँदै खेलमा डटिरहे।

कुल ५० बल खेलेका उनी ६३ रनमा अविजित रहे, जसमा छ चौका र दुई छक्का छ।

विजयी दुई रन बटुलेपछि उनले मैदानमा घोप्टिएर प्रार्थना गरेका थिए।

गुलशन झा २२ रनमा आउट भएपछि कप्तान रोहित पौडेल आए।

रोहित र आशिफले अविजित रही खेल जिताए। रोहितले २१ बलमा ३५ रन बटुले।

नेपाली ब्याटरको विशेषता के रह्यो भने कुनै पनि खेलाडीहरूले खराब बल खेलेनन्, कुनै ठूलो शट खेल्ने जोखिम पनि उठाएनन्। अनि आरामसँग खेललाई जिततर्फ लगे।

आजको लागि टिममा समावेश गरिएका घाइते खेलाडी दीपेन्द्र सिंह ऐरीको पालो नै आएन।

प्रकाशित मिति:November 3, 2023