कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने ट्रेड युनियनहरुको घोषणा

  Sampatti News Online

November 5, 2023

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । विभिन्न सातबुँदे माग राखेर आन्दोलनरत कर्मचारीले आफ्नो चासो सम्बोधन गर्न उदासीनता प्रकट गरेको भन्दै घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।

सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उप कार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरूलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।

आज कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, भोलि कात्तिक २० गते ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म र पर्सि ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरूले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

प्राधिकरणले गत असोज ३० गते विभिन्न पदका आठ तहदेखि दुई तहसम्मका २९७ जना कर्मचारीहरूको सरुवा गरेको थियो । उक्त सरुवाबाट नै ट्रेड युनियनहरू रुष्ट बन्दै आएका थिए ।

संस्थागत उन्नति र कर्मचारीको हक हितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र बुझाएका नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरूले कात्तिक १४ गते दोस्रो पटक सात बुँदे सहित तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । तर व्यवस्थापनसँगको वार्ताबाट निष्कर्षमा पुग्ने वातावरण नबनेको भन्दै कार्यकारी निर्देशक घिसिङसहित कार्यालय प्रमुखहरूलाई कार्यालय प्रवेशमा निषेध गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

कर्मचारी युनियनहरूले आफूले उठाएका जायज माग सम्बोधन गर्न आग्रह गर्दै २२ गतेपछि थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति:November 5, 2023