कांग्रेस रणनीतिले फतुवा बिजयपुरको नगरसभा पुनः अन्यौलमा

३५० बढी शिक्षक कर्मचारीले ५ महिनादेखि तलब पाएनन

  Sampatti News Online

December 4, 2023

रौतहट १८ मंसीर। निर्वाचित केही जनप्रतिनिधि कै कारण फतुवा बिजयपुर नगरपालिकाको नगरसभा पुनः अन्यौल बनेको छ।
नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधिको कारण नगरसभा पुनः अन्यौल बन्दै गएको हो। कांग्रेसकै जनप्रतिनिधिहरुको जुँगाको लड़ाईमा असार १० गतेभित्र हुनुपर्ने नगरसभा हालसम्म भएको छैन भने हुने सम्भावना पनि टाढा हुँदै गएको छ।
फतुवा बिजयपुरको मेयर अम्बेया खातुनको निर्देशनमा नगरसभा बारे छलफल गरी दिन तोक्न प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले हिजो आईतवार नगर कार्यपालिका बोर्डको बैठक बोलाएका थिए। बैठकमा २१ जना कार्यपालिका सदस्य मध्ये कार्यालय समय सम्म मात्र पाचँजना उपस्थित भएकाले गणपुरक संख्या नपुगेको भन्दै पुनः २० गतेको लागि बैठक सारिएको प्रशासकिय अधिकृत प्रधानले जानकारी दिएका छन् ।
बैठकमा नगर कार्यपालिका सदस्य मध्ये एमाले र अन्य समर्थित गरी मात्र ५ जना उपस्थित भएपनि कांग्रेस बाट निर्वाचित ८ जना वडा अध्यक्ष मध्ये सातजना र अन्य कार्यपालिका सदस्य गरी १६ जना अनुपस्थित भएकाले बाध्य भएर बैठक सारिएको फतुवा बिजयपुरको कार्वाहक मेयर खातुनले जानकारी दिएकी छिन्। फतुवा बिजयपुरमा कांग्रेस बाट निर्वाचीत वडा अध्यक्षहरुको कारण यो दोस्रो पटक नगरसभा बारे बिवाद भएको छ। यस अघि गत असार १० गते नगरसभा गर्न नगरपालिकाले सम्पूर्ण तयारी गरेको अवस्थामा पनि केही वडा अध्यक्षहरुकै गलत अडानको कारण हुनसकेको थिएन।
वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश कुमार यादवले आईतवार को कार्यपालिका बोर्डको बैठक बारे हामीलाई औपचारिक जानकारी दिएको छैन, कांग्रेस बाट निर्वाचीत ८ जना वडा अध्यक्ष मध्ये नगरपालिकाले कसैलाई पनि बैठक बारे पत्र पठाएको छैन,मेयरका श्रीमान महमद सेराजले मौखिक मात्र भनेकाले आफु लगायत समर्थित सबैजना वैठकमा नगएको वडा अध्यक्ष यादवले जानकारी दिएका छन् ।
उता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले कार्यपालिका बैठक बारे सम्पूर्ण जनप्रतिनिधि लाई पत्र बुझाएर भर्पाई समेत गराएको दाबी गरेका छन्।
झण्डै दुई महिनाको अन्तराल पछि खुलेको नगरपालिकामा नगरसभा बारे आईतवार बैठक बस्ने जनप्रतिनिधि लाई मात्र नभई सर्वसाधारण सबैलाई थाहा भएकै हो। जनप्रतिनिधि लाई पत्र बुझाएर बैठक बारे सामाजिक सञ्जालमा पनि सूचना राखिएको थियो। तर नियतबस नगरपालिका लाई लथालिङ्ग बनाउन उद्धत भएका केही वडा अध्यक्ष को कारण उनीहरू बैठकमा उपस्थित नभएको कार्यवाहक मेयर अम्बेया खातुनले गुनासो गरेकी छन्।
फतुवा बिजयपुरमा लालबकैया नदिको टेण्डरमा तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर गर्दै अख्तियारको सिफारिसमा बिशेष अदालतले तीनवर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेको थियो।
कांग्रेस बाट निर्वाचित मेयर यादवको पद धरापमा परेसंगै सोही पार्टी बाट निर्वाचित उपमेयर खातुनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।
यस अघि प्रमुख प्रशासकीय अधिकृतको बिषय लिएर कांग्रेस बाट निर्वाचीत वडा अध्यक्षहरुले केही कर्मचारी लाई अघि सारेर नगरपालिकामा तालाबन्दी गराएका थिए।
कांग्रेस बाहेकका गठित संघर्ष समितिको पहलमा झण्डै दुई महिना सम्म बन्द रहेको नगरपालिका अघिल्लो सातादेखि सञ्चालनमा आएको छ। समयमा नगरसभा नभएको कारण फतुवा विजयपुरको शिक्षक कर्मचारी सहित ३५० भन्दा बढीले यस आर्थिक वर्षमा तलब पाएका छैनन् भने आर्थिक कारोबार ठप्प भएर विकास निर्माणको सम्पूर्ण काम अवरुद्ध भएको छ। मेयर खातुन र प्रमुख प्रशासकीय अधिकृत प्रधानको पहल बाट केही दिन देखि सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ।
प्रशासकीय अधिकृत प्रधानले एकमहिना भित्र नगरको सम्पूर्ण समस्या समाधान गर्ने उदेश्यले नगरसभा बारे छलफल तथा दिन तोक्न आईतवार कार्यपालिकाको बैठक आव्हान गरेका थिए। तर कांग्रेस बाट निर्वाचित कार्यवाहक मेयर अम्बेया खातुन लाई असफल बनाउन उनकै पार्टीका जनप्रतिनिधि पछि लागेको कारण फतुवा बिजयपुरको समस्या जटिल बन्दै गएको छ। नेपाली कांग्रेसका जिल्ला सभापती एवं प्रदेश सांसद सुनिल कुमार यादव जितेन्द्रको गृह नगर हो फतुवा बिजयपुर तर उनले सकारात्मक पहल नगरेको कारण समस्या भएको कतिपय को आँकलन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अजय तिमालासिनाले फतुवा बिजयपुरमा मेयरको अर्को चुनाव नभए सम्म नगरसभा हुन नदिने कांग्रेसको नीति अनुसार समस्या भएको आरोप लगाएका छन। नेपाली कांग्रेस नगर सभापती बाबुराम अधिकारी संग यस बारे प्रतिक्रिया लिनखोज्दा उनकै शब्दमा बाबु यहाँको अवस्था बारे तपाईँ लाई सब थाहै छ भन्दै पन्छिएका छन। कांग्रेस जिल्ला सभापती जितेन्द्र सम्पर्कमा आउन चाहेनन्। फतुवा बिजयपुरमा मेयर , उपमेयर,८ वडा अध्यक्ष सहित कांग्रेस पार्टी बाट बहुमत रहेपनि पार्टीभित्रै एक अर्का लाई असफल बनाउने गलत रणनीतिको कारण त्यहाँका सैयौं कर्मचारी र हजारौँ जनता ढुख भोग्न बाध्य भएको कारण पार्टीको माथिलो संगठन र नियमनकारी निकायले ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ।

कांग्रेस जिल्ला सभापती सुनिल कुमार यादव जितेन्द्रले तिमल्सिनाको आरोपको खण्डन गर्दै फतुवा बिजयपुरको नगरसभा गराउन आफूले प्रयास गरिरहेको बताए। कार्यवाहक मेयर अम्बेया खातुन लाई अन्य केही दलका नेताहरुले दिनरात उचालेर समस्या खडा गरेको दाबी गरेका छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:December 4, 2023