आश्रयको लापरवाहीले ५०० परिवार खानेपानी बाट वञ्चित

  Sampatti News Online

December 11, 2023


रौतहट २५ मंसीर । आश्रय निर्माण सेवाको लापरवाहीको कारण कटहरिया नगरक्षेत्र अन्तर्गत झण्डै पाँचसय परिवार शुद्ध खानेपानी बाट वञ्चित भएका छन्।
बाटो छेउमा ढल तथा नाला बनाउने क्रममा क्षति भएको खानेपानीको पाईप लगायतका संरचना आश्रयले मर्मत नगर्दा यहाँका पाँचसय परिवार झण्डै एकबर्ष देखि शुद्ध खानेपानी बाट वञ्चित भएका हुन्।
आश्रय निर्माण सेवाले कटहरियामा ५४ करोडको टेण्डर घटाघटमा ३४ करोडमा साकार गरी ढल तथा नाला निर्माणको क्रममा त्यस्तो लापरवाही गरेको स्थानीयले बताएका छन्।
कटहरिया नगरपालीका वडा ४ र ५ साबिक कटहरिया गाविसमा ढल तथा नाला निर्माणको लागि खानेपानी तेस्रो सानासहरी आयोजनाले दुईबर्ष अघि निकालेको ५४ करोडको टेन्डर आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा साकार गरेको थियो ।
सम्झौता अनुसार करोडौँको योजनाको काम आफैले नगरेर साधन स्रोत नभएका ससाना पेटी ठेकदार संग निर्माण गराएको कारण एकातर्फ मापदण्ड अनुसारको सामग्री प्रयोग नभएकाले ढल तथा नाला गुणस्तरहीन भएको छ भने अर्को तर्फ खानेपानीको लाखौंको संरचनामा क्षती पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। कटहरिया वडा ४ र ५ बहादुरपुर, टोलापुर, बलरामपुरमा दर्जन बढी स्थानमा खानेपानीको पाईपमा क्षति भएको थियो। क्षति भएको पाईप मर्मत नगरेको कारण करिब ५०० परिवार खानेपानी बाट १ बर्ष देखि वञ्चित भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष योगेन्द्र साहले जानकारी दिएका छन्। क्षती भएको संरचना मर्मत गर्न २४ घण्टा भित्र गर्नुपर्नेमा एकबर्ष बित्दा पनि भएन, मर्मतको लागि खानेपानी संस्थान पानीपोखरी, ईटहरी तीनवटा पत्र लेखेर तागेदा गरेको १० महिना कसैले पनि कुनै वास्ता नगरेको अध्यक्ष साहले बताएका छन्।
एसियायी विकास बैंक र कटहरिया नगरपालिकाको ३४ करोड बढिको लगानीमा वडा ४ र ५ मा एकैपटक झन्डै १६ किलोमीटर ढल तथा नाला निर्माणको योजनाको काम भैरहेको सम्भवत मधेस प्रदेश मै पहिलो हो । एशियाली विकास बैंकको करोडौँको लगानीमा पनि आश्रयले आफैले निर्माणको काम नगरी पेटी ठेकदार संग गरिएकोले अधिकांस संरचना कमजोर भएको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका छन्।
आश्रय निर्माण सेवाका प्रोजेक्ट मेनेजर अजय गुप्ताले क्षति पुगेको संरचना तुरुन्तै मर्मत हुने प्रतिक्रिया दिएका छन्। तर उनले पटकपटक आश्वासन मात्र दिँदैआएको र काममा चासो नलिनेगरेको स्थानीयहरूले गुनासो गरेका छन्।
पुर्व मन्त्री प्रभु साहको पहलमा उक्त योजना स्वीकृत भएको तथा कटहरिया नगरपालिकाको पूर्व मेयर सियाराम कुशवाहाको पालामा नगरपालिकाले १५ प्रतिशत लगानी गरेपछि निर्माण सुरू भएको थियो। सञ्जय मिश्रा

प्रकाशित मिति:December 11, 2023