December 12, 2023
वीरगन्ज। वीरगन्ज महानगरपालिका मेयर र उपमेयरका सचिवालय समर्थकहरुबीच कुटाकुट भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यालयको विषयलाई लिएर विवाद उत्पन्न हुँदा मेयर राजेशमान सिंह र उपमेयर इम्तेयाज आलमको सचिवालयका समर्थहरुबीच कुटाकुट भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा ताल्चा लगाएर आफ्नो सचिवालय बनाउने तयारी उपमेयरको सचिवालयले गरेको थियो ।तर, मंगलबार अचानक केही वडाअध्यक्षहरुसहितको टोलीले प्रमुख प्रशासकीय अधिकृत त्यो कोठामा लगाइएको ताल्चा फुटाएर पञ्जीकरण शाखाको सामान लैजान लागेका थिए ।यही क्रममा विवाद उत्पन्न भएपछि मेयर र उपमेयर सचिवालयका समर्थकबीच कुटाकुट भएको प्रत्यक्षदर्शी बताउँछन् ।
महानगर परिसरको दक्षिणपट्टिको भवनको नवनिर्मित तेस्रो तल्लामा केही दिन अगाडि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो । मेयर सिंहको कार्यालय सरेपछि उनको पुरानो खाली भएको कार्यालयमा कार्यकारी अधिकृतको कार्यालय सारिएको थियो । यसअघि कार्यकारी अधिकृतको कार्यालय उपमेयरको कार्यालयसँग टाँसिएको थियो ।
कर्मचारीका अनुसार कार्यकारी अधिकृतको कार्यालय सरेपछि खाली भएको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा बनाउने योजना रहेको थियो । हाल पञ्जीकरण शाखा साँघुरो कोठामा सञ्चालित रहेको छ । कर्मचारी स्रोतका अनुसार उपमेयर इम्तियाज आलमको सचिवालयले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताएका थिए ।
‘खाली कोठामा ताला नै झुन्ड्याइएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारी भन्छन्, ‘मंगलबार ताला खोलाएर पञ्जीकरण शाखा बनाउने विषयमा विवाद भएको हो ।’ पञ्जीकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी भएको थियो । विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए । प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।
प्रकाशित मिति:December 12, 2023
November 23, 2024