तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

December 24, 2023

काठमाडौं :  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक पोखरी निर्माणमा अनियमितता गर्ने तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

धनुषाको हंसपुर नगरपालिका -१  भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा नम्बर १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा छानबिन हुँदा तत्कालीन नगरपालिका -१ का वडाअध्यक्ष कामेश्वर कापर,तत्कालीन प्रशासकीय अधिकृत केशव कुमार अधिकारी,ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरीले  ५ लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैंसँग राखेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

त्यस्तै ठेकेदारहरुले नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगर्दा पनि निरन्तर किस्ता दिएको भनी वडाध्यक्ष कापरले हंसपुर नगरपालिकाको लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको भन्ने गलत व्यहोरा बनाएको अख्तियारको भनाइ छ ।

ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीले उक्त पोखरी ठेक्कामा लिएवापतको रकम नबुझाई नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको अख्तियारको भनाइ छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले नगरकार्यपालिकाको बैठकले निर्णयमा नगरेको कुरा गरेको भनी सरकारी कागज सच्याएको जनाएको छ ।

प्रकाशित मिति:December 24, 2023