अनमीमाथि जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ 

  Sampatti News Online

December 26, 2023

मुगुको सोरु गाउँपालिका ९ स्थित खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही पक्राउ परेका छन् । सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मालाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । अनमी तुलसामाथि जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झापु शाही र अर्का सोरु गाउँपालिका– ६ का धनप्रसाद भट्टलाई शनिबार पक्राउ गरी अनुसन्धानका लागि अदालतमा सातदिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मुगुकाले जानकारी दिए। 

अनमी विश्वकर्माले आफूमाथि जातीय विभेद भएको भन्दै तीनजनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। उक्त जाहेरी दर्ता भई किटानी जाहेरीकै आधारमा तीनैजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति:December 26, 2023