रौतहट १३ पुस। जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालीका ४ का वर्ष २५ को जितेन्द्र गिरी , वडा ७ वर्ष ३७ को दिपेन्द्र कुमार साह र गुजरा नगरपालीका ६ घर भई हाल चन्द्रपुर नगरपालीका १० बस्ने बर्ष ४२ को राज कुमार साह रहेको एस्पी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्। उनीहरूले छुट्टाछुट्टै चारजना मानिसको बैंक खाता बाट २४ लाख भन्दा बढि रुपैया चोरेको अनुसन्धान बाट खुलेको रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले जानकारी दिएका छन्। उनीहरूमाथि ठगी तथा किर्ते लगायतका मुद्दा दर्तागरी कार्वाही प्रक्रिया अगाडि बढाएको एस्पी श्रेष्ठले बताएका छन्।
गौर ४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छे बैंक लि. को खाताबाट गत असार २९ गते देखी पटक पटक गरी जम्मा १२ लाख,४६, हजार ४४० रुपैया झिकेको छ।
गौर ७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट गत असार २० गते देखी पटक पटक गरी जम्मा पांच लाख रुपैयाँ,गौर २ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट गत कार्तिक २९ गते ८० हजार, चन्द्रपुर ९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरमा रहेको खाताबाट गत कार्तिक ३० गते देखी पटक पटक गरी जम्मा ६ लाख, ११हजार,२०८ रुपैया ५७ पैसा गरी कुल २४लाख,३७ हजार,६८५ रुपैया ५७ पैसा चोरिएको प्रहरीले जनाएको छ।
विभिन्न काल्पनिक व्यक्तीहरुको नामको सीमावर्ती भारत बिहार को घोडासहनमा गई किर्ते नक्कली नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग मार्फत पीडितहरुको खातामा अनाधिकृत रुपमा पहुच पुन्याई रकम चोरी गरेको घटनाको अनुसन्धान बाट पुष्टि भएको रौतहट प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बिहीवार साँझ सार्वजनिक गरेको छ।
पक्राउ परेका तीनैजनालाई अनुसन्धान पश्चात प्रतिवेदन सहितको मिसिल जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको प्रहरीले जनाएको छ। घटनामा संलग्न थप २ जना मानिस फरार रहेकाले उनीहरूको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ई पाँचजनाको गिरोहले अरु अरूको नक्कली नागरिकता प्रयोग गरेर अरु अरू मानिसको नामको सिमकार्ड झिकेर उनको बैंक खाता, ईसेवा खलती तथा बिभिन्न बैंकको खातामा पहुँच पुर्याउने गरेको छ। एस्पी श्रेष्ठका अनुसार उक्त गिरोहले खास गरेर अवकास प्राप्त कर्मचारी र बुढापाका अशक्त मानिसलाई बिशेष टार्गेट बनाएको छ। यस अघि पनि कैयौं पीडितको लाखौं रुपैया रौतहट प्रहरीले फिर्ता गराउनुका साथै दोषीलाई कारबाहीको दायरामा ल्याई सकेको एस्पी श्रेष्ठले जानकारी दिएका छन्।