काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
बिहीबार गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित चार जनाले रिट दायर गरेका थिए। त्यसको प्रारम्भिक सुनुवाइ शुक्रबार हुन लागेको हो। गभर्नर अधिकारी २०७६ चैत २४ गते नियुक्त भएका थिए।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० सञ्चालकको योग्यता अनुसार नभएको भन्दै रिट निवेदकले दाबी गरेको छ। उक्त दफाअनुसार नेपाली नागरिक भएको, उच्च नैतिक चरित्र भएको हुनुपर्छ।
आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्छ।