वैदेशिक रोजगार विभागको महानिर्देशकमा डण्डुराज घिमिरे

  Sampatti News Online

January 1, 2024

काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा सह–सचिव डण्डुराज घिमिरे नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घिमिरेलाई महानिर्देशकको रूपमा पठाएको हो ।

घिमिरे मन्त्रालयको प्रवक्ता समेत हुन् । यसअघिका महानिर्देशक मदन दाहालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको सरुवा गरिएको थियो । उनको सरुवा गरेको तीन सातापछि मन्त्रालयले नयाँ महानिर्देशक पठाएको हो । सेवाग्राहीको निकै नै बढी चाप हुने कार्यालय मानिने विभाग तीन साता महानिर्देशकविहीन बनेको थियो । 

 करिव एक महिना अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगार विभागमा महानिर्देशकको पद रिक्त राखेर दुई सहसचिवको सरुवा गरेका थिए । जसमा वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक मदन दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको जिम्मेवारी दिएर श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका केशव विमलीलाई राष्‍ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्‍ठान विकास समितिको कार्यकारी निर्देशकमा सरुवा गरेका थिए ।

दाहालको सरुवा भएसँगै बैदेशिक रोजगार विभाग करिव एक महिनादेखि महानिर्देशक विहिन भएको थियो । दाहालले सात महिना अघि मात्रै गत जेठ दुई गते वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । दाहाल मात्रै नभएर विभागमा महानिर्देशकको जिम्मेवारी पाउनेमध्ये थोरैले एक वर्ष विभागको महानिर्देशकको जिम्मेवारी पाउने गरेका छन् ।

श्रममन्त्रीको धेरै चासोका रुपमा विभाग रहने भएकाले अधिकांशको ६ महिना नपुग्दै सरुवा हुने गरेको छ ।

प्रकाशित मिति:January 1, 2024