छात्रवृत्तिमा १८ लाख भ्रष्टाचार गर्ने मदरसाका प्रधानाध्यापकविरुद्ध मुद्दा

  Sampatti News Online

January 2, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेका एक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर २ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक जोलाहले विभिन्न आर्थिक वर्षमा तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकमा साविक जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकम सम्बन्धित शीर्षकमा खर्च नगरी हिनामिना गरेको अख्तियारको दाबी छ ।

बरकातियालाई जिल्ला शिक्षा कार्यालय, बाँकेबाट आव २०७०/०७१ देखि आव २०७४/०७५ सम्म शिक्षक तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको तथा मदरसाका तत्कालीन प्रधानाध्यापक जोलाहको नाममा लेखापरीक्षण प्रतिवेदनले पेस्की बेरुजु औँल्याएको रकमसमेत जोलाहले विव्यस अध्यक्ष खाँसँग मिलेमतो गरी रु.१८ लाख, तीन हजार, ७ सय ४१ रुपैयाँ रकम सम्बन्धित शीर्षकमा खर्च नगरी आफूखुशी खर्च गरेको र आफ्नो जिम्मामा रहेका सक्कल कागजातहरू बरबुझारथ नगरी लुकाएको अख्तियारको ठहर छ ।

प्रधानाध्यापक जोलाह र खाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा १८ लाख तीन हजार सात सय ४१ रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति:January 2, 2024