भारतीय प्रहरीले अपहरणकारीबाट दुई नेपालीलाई मुक्त गरायो

  Sampatti News Online

January 2, 2024

रौतहट । चितवनबाट रौतहट घुम्न आएका बेला अपहरणमा परेका दुई जना नेपालीलाई भारतीय प्रहरीले अपहरणकारीको पञ्जाबाट सकुशल मुक्त गराएको छ । अपहरणकारीबाट मुक्त दुवैलाई रौतहट प्रहरीले बुधबार आफन्तलाई जिम्मा लगाएको छ । अपहरणमा संलग्न ६ जना भारतीय पक्राउ परेका छन् ।  

चितवन भरत महानगरपालिका १९ हुलाक चोकका ४० वर्षिय कुष्ण थापा र रत्ननगर नगरपालिका १२ जिरौनाका ३५ बर्षिय दिपेन्द्र महतलाई भारतीय प्रहरीको सहयोगमा अपहरणमुक्त गराई आज बुधवार अभिभावकलाई जिम्मा लगाएको एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन। जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनको आयोजना गरी घटनाबारे सार्वजनिक गरेको हो।

गत ५ गते विहान साढे १०बजे दुबैजना थापा र महत चन्द्रपुर जान्छु भन्दै मोटरसाइकलमा हिडेका थिए । गत ७ गते बेलका ७ बजेर ५१ मिनेटमा थापाले आफूहरु अपहरणमा परेकाले ६ लाख रुपैया फिरौती मागेको भन्दै श्रीमतीको म्यासेन्जरमा कल गरेको थियो ।

घटना बारे जिल्ला प्रहरी कार्यालय चितवनबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्र पठाएपछि  सीतामढी प्रहरी संगको समन्वयमा शंकास्पद स्थानहरुमा खोजी सुरुगरेको एसपी श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भारतीय प्रहरी र रौतहट प्रहरीको निकै प्रयास पछि हिजो मंगलवार सीतामढीबाट थापा र महतलाई सकुशल अपहरणमुक्त गराई गौर ल्याइएको जानकारी दिए। अपहरणमा संलग्न ६ जना पुरुष मानिसहरुलाई सीतामढी प्रहरीले पक्राउ गरेर अपहरण तथा शरीर बन्धक शिर्षकमा जाहेरी लिई थप अनुसन्धान कार्य अगाडी बढाइएको उनले बताए। अपहरणमा संलग्न सीतामढी जिल्ला डुम्रा मेहसोल २७ का मोहम्मद लियाकत राइनको छोरा मोहम्मद अकबर, मोह्म्मद नईम, बर्ष ३० का कौशर अली, बर्ष २० का मोह्म्मद सदाब, बर्ष २७ का मोह्म्मद इर्साद र बर्ष ३३ का रामनरेश कुमारलाई सीतामढी प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही अघि बढाएको  प्रवक्ता गिरीले जानकारी दिए।

भारतमा अपराधीहरु पक्राउ पर्दा त्यहीको कानुन अनुसार पीडितको जाहेरी लिएर आवश्यक कारवाही अघि बढाइएको एसपी श्रेष्ठले बताए । अपहरणमुक्त भएका दुवैजनालाई प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परिक्षण पश्चात उनीहरुको आफन्तलाई जिम्मा लगाई  पठाइएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएका थिए।

प्रकाशित मिति:January 2, 2024