कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत जेल चलान

  Sampatti News Online

January 2, 2024

काठमाडौँ । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

मंगलबार जिल्ला अदालत कास्कीले पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

न्यायाधीश ऋषिराम आचार्यको इजलासले मित्रमिलन बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम अपचलन गरेको मुद्दामा पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई थुनामा पठाउन आदेश दिएको अदालतका सुचना अधिकारी सूरज अधिकारीले जानकारी दिए ।

सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि उनीविरुद्ध केही दिन अघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।

पराजुली कुश्मा आउनुअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत थिए । सोही समयमा उनले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएको खुलेको प्रहरीको भनाइ छ ।

मित्रमिलन बचत तथा ऋण सहकारीका सञ्चालकहरूको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा घुस लिएको बयान दिएका थिए ।

प्रकाशित मिति:January 2, 2024