गणतन्त्रमाथिको हमला हामीमाथिको हमला हो वर्षमान पुन

  Sampatti News Online

January 8, 2024


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन अनन्तले निरङ्कुश राजतन्त्रवादीहरुले व्यवस्थामाथि हमला सुरु गरेको बताएका छन् । उनले त्यो हमला आफूहरूमाथिको हमला भएको बताए ।सो पार्टीद्वारा सञ्चालित ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन कार्यक्रमलाई सोमवार राजधानीमा सम्बोधन गर्दै पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरंकुशतावादीहरुको चुनौती स्वीकार गर्न तयार रहेको बताए । जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफ्नो दल प्रतिबद्ध रहेको पुनको भनाइ थियो ।उनले आफूहरूले कोसिस गर्दागर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गरे । ‘गणतन्त्रसहित उपलब्धिहरूमाथि निरंकुशतावादीहरुका तर्फबाट प्रश्न उठाउन थालिएको छ’, पुनले भने, ‘यो व्यवस्थामाथिको मात्र प्रश्न होइन, हामी माओवादीहरु माथिको पनि प्रश्न हो ।’पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले जनताको अवस्था बदल्न निरन्तर प्रयास गर्दै समाजवादी विकल्प तयार पार्नु आफूहरूको राजनीतिक द्येय भएको बताए । पुनले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरूले दिने पनि बताए ।पुनले नेतृत्वले आफ्नो वर्गीय धरातल छाडेको आरोप लाग्ने गरेको चर्चा गर्दै माओवादी सर्वहारा वर्ग, मजदुर, किसान, श्रमिक र देशभक्तहरूको पार्टी भएको दाबी गरे । उनले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए ।
‘हाम्रो पार्टी कार्यकर्तासँग जनता भएको पार्टी हो । अब हामी जनताको मन जितेर कार्यकर्ता र कार्यकर्ताको मन जितेर नेता हुने प्रणाली संस्थागत गर्न खोज्दैछौं’, पुनले भने, ‘यसले नेतृत्वमा युवाहरू आउनुपर्ने भन्ने भन्ने आवाजको पनि सम्बोधन गर्नेछ ।

प्रकाशित मिति:January 8, 2024