तेस्रोदिन पनि जनप्रतिनिधिको खबरदारी जारी , बार्ताको पहल जारी

  Sampatti News Online

January 11, 2024

रौतहट २६ पुस। मेयर अजयप्रकाश जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै नगरपालिकामा तालाबन्दी गरेका कटहरियाका जनप्रतिनिधिहरु तेस्रो दिन पनि खबरदारीमा जारी राखेका छन्।

आज बिहान १० बजे कार्यालय समय सुरु हुनासाथ जनप्रतिनिधि तथा पार्टी प्रतिनिधिहरू नगरपालिकाको प्राङ्गणमा बसेर खबरदारी सुरु गरेका हुन्।

खबरदारीमा उपमेयर रिता देवी यादव,वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता,७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापती शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्व वडा अध्यक्ष उमेश यादव, बाल्मीकी यादव,वडा प्रत्याशी हरेन्द्र यादव लगायत दर्जनौ महिला पुरुष रहेका छन्।

जनप्रतिनिधि तथा पार्टी प्रतिनिधिहरु गत सोमवार नगरपालिकाको बिभिन्न फाँटमा तालाबन्दी गरेदेखि नै नियमित कार्यालय समय बिहान १० बजे देखि साँझ ५ बजेसम्म नगरपालिकाको प्राङ्गणमा बसेर खबरदारी गरिरहेका छन् ।

उनीहरुले खबरदारी यो कुनै पार्टीको लड़ाई नभई नगर बचाऔं अभियान भएकाले सहयोग गर्न सम्पूर्ण नागरिक तथा कर्मचारी तथा सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

हामीले अघी सारेको ८ बुन्दे माग मेयर अजयप्रकाश जैसवालले पूरा नगरे सम्म नगरपालिकामा तालाबन्दीका साथै खबरदारी यथावत रहने उपमेयर रिता देवी यादवले बताएकी छन्।

आफूहरुको माग सम्बोधन नभएसम्म नगरपालिकाको ताला नखोलिने बरु थप सशक्त आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्।

जनप्रतिनिधिले तालाबन्दी गरेको बावजूद आज तेस्रो दिन पनि नगरपालिकाका अधिकांश कर्मचारी कार्यालय बाहिरै बसेर छन्।

८ बुन्दे माग संगै हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग गर्दै उपमेयर रिता देवी यादव सहितका जनप्रतिनिधिले गत सोमवार मेयर जैसवालको कार्यकक्षमा तालाबन्दी गरेका थिए।

नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दैआएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठक बाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै बिगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याईएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विधुत पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जमा गराई सम्झौता गर्नु पर्ने, आर्थिक बर्ष २०७९१ ०८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ संस्था बाट आएको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी , करार, डोर,को संख्या, नाम ठेगाना सहित, उनीहरूको तलबमानको बिवरण, तथा भुक्तानी बारे लिखित जानकारी गराउन माग गरिएको छ।

नगरपालिकाको स्वास्थ, जिनसी, प्रशासन बाहेक मेयर समेतको कार्यकक्षमा तालाबन्दी गरेका थिए। गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा ८ बुन्दे माग बारे जानकारी माग्दा मेयर जैसवालले गत २३ गते सोमबार हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण बिवरण पेस गर्ने बताएका थिए। २३ गते भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल , प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह सहित अनुपस्थित रहेको र मेयरको मानिस हिँउदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरुको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरुगरेकाले आफूहरु तालाबन्दी गर्न बाध्य भएको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका छन्।

एकातर्फ बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिँउदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको जनप्रतिनिधिहरुले बताएका छन्।

मासिक १० लाख भन्दा बढिको डिजल पेट्रोल खर्च, नगरको स्थायी कर्मचारीको मासिक करिब १० लाख तलब आउने स्थानमा करार देखाएर मासिक ३५ लाख तलबको नाउँमा मेयर जैसवालले लीनेगरेको उनीहरूले दाबी गरेका छन। तालाबन्दी पछि मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह मंगलवार , बुधबार कार्यालयमा अनुपस्थित रहेका थिए ।

रौतहटका सिडियो हिरालाल रेग्मीले कटहरिया नगरपालिकाको समस्या समाधानको लागि बार्ताको माध्यमबाट पहल गर्न मेयर जैसवाल लाई सुझाव दिएको बताएका छन। नगरपालिकामा शान्ती सुरक्षा चाहियो भने हामी दिन्छौं तर जनप्रतिनिधि बीचको बिवाद तपाईहरु बसेर समाधान गर्नुस, मंगलवारको भेटमा मेयर जैसवाल लाई मैले भनेको थिएँ सिडियो रेग्मीले बताए। मेयर स्रोतका अनुसार पहिले ताला खुलेपछि, बार्ता गर्न तयार छु, उता माग सम्बोधन नभएसम्म तालाबन्दी जारिरहने जनप्रतिनिधिको अडान। सञ्जय मिश्रा 

प्रकाशित मिति:January 11, 2024