नेपालको अर्थतन्त्रले गति लिन थाल्यो – विश्व बैंकको प्रतिवेदन

  Sampatti News Online

January 11, 2024


काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो ।

खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुला गरिएको कारण देखाउदै विश्व बैंकले नेपालको अर्थतन्त्रमा सुधार देखिने प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनका अनुसार चालु आवमा नेपालले ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । यो बृद्धिदर गत आर्थिक वर्षको भन्दा १ दशमलव ९ प्रतिशतले बढी हो ।

सुधारको अनुमान गरिएको दक्षिण एसियाली अर्थतन्त्र पनि चुनौतीविहीन भने नरहेको प्रतिवेदनले उल्लेख गरेको छ । खास गरी मध्यपूर्वमा देखिएको विवाद तथा द्वन्द्वका कारण ऊर्जा र खाद्यको मूल्य बढ्ने तथा विकसित अर्थतन्त्रको नीतिगत दर बढ्न सक्ने कारण त्यसको जोखिम दक्षिण एसिया क्षेत्रले पनि बेहोर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ ।

दक्षिण एसियाली क्षेत्रका लागि सन् २०२४ मा आन्तरिक माग नै अर्थतन्त्र सुधारको मुख्य निर्धारक हुने अनुमान गरिएको छ ।
विश्व अर्थतन्त्र विगत ३० वर्षकै सबैभन्दा सुस्त गतिमा रहेकाले सन् २०२४ मा विश्वको अर्थतन्त्र २ दशमलव ३ प्रतिशतको औसत वृद्धिदरमा रहने अनुमान विश्व बैंकले गरेको छ ।

प्रकाशित मिति:January 11, 2024