अनलाइन क्यासिनो गेम खेलाउने ३ व्यक्ती पक्राउ

  Sampatti News Online

January 11, 2024


काठमाडौं। क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसनमार्फत हारजित हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका-७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका-११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतमलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार विभिन्न खेलहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखेर रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:January 11, 2024