बढ्यो चाकुको व्यापार, व्यवसायी भन्छन्- दैनिक डेढ लाखसम्मको बेच्दैछौं

Nepal Cover
२६ पुष २०८०, बिहीबार
image


काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको टोखामा चाकु बनाउन भ्याइनभ्याइ छ । काठमाडौंको टोखा चाकुका लागि प्रसिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् ।

जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ । माघे संक्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरुले तिब्रता दिएका हुन् ।

चाकु बनाउन पहिला उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । हिजो आज टोखामा तराइबाट खरिद गरी ल्याइएको सख्खरबाट चाकु बनाइन्छ ।

सख्खरलाई करिब तीन घण्टा सम्म पकाउने, करिब आधा घण्टा सम्म चिस्याउने र राम्रोसँग तन्काएर ताडनुपर्छ । जसले गर्दा चाकुको रंग रातो हुन्छ भने खानको लागि पनि नरम र स्वादिलो हुन्छ । उद्यमीहरुका अनुसार ५० केजी चाकु बनाउन करिब ५ घण्टा लाग्छ ।

चाकु उत्पादनमा टोखा प्रसिद्ध भएको कारण मानिसहरु चाकु किन्नका लागि टोखा सम्म पुग्ने गर्छन् । टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै बिक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन् । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।

टोखाका उद्योगमा हाल सादा चाकुू मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।टोखा नगरपालिकाले आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रममा टोखाको चाकु ब्राण्डिङ गर्ने योजना अघि सारेको थियो ।

चाकु व्यवसायी हुछे नारायण श्रेष्ठले पोहोरको भन्दा यसपाला व्यापार राम्रो भएको बताए । दिनको डेढलाख सम्म व्यापार हुने उनको भनाइ छ ।