माओवादीको केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउन प्रस्ताव

Nepal Cover
२६ पुष २०८०, बिहीबार
image

नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीको आकार घटाउने भएको छ।पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ।

उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्तावमा शनिबारदेखि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने विधान मस्यौदा समितिका सदस्य गणेश साहले जानकारी दिए।

माओवादीमा अहिले ७ सयभन्दा धेरै केन्द्रीय सदस्यहरू छन्। गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले केन्द्रीय कमिटी घटाएर दुई अंकको बनाउने बताएका थिए।

यस्तै समितिले प्रदेश, जिल्ला, पालिका र वडा समितिहरूलाई कार्यकारिणी बनाउने प्रस्ताव गरेको छ।

केन्द्रीय विभागहरू घटाउने र एउटा विभागमा बढीमा १५ जना सदस्य राख्ने सहमति विधान मस्यौदा समितिले गरेको साहले जानकारी दिए।
बैठकमा पदाधिकारी र पार्टीले सरकारमा पठाउने मन्त्रीहरूको कार्यकाल दुईभन्दा बढी बनाउन नहुने विषयमा छलफल भए पनि उक्त विषय मस्यौदामा नराखिएको साहले बताए।
माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ। सम्मेलनअघि पार्टीले तयार पारेको विधान मस्यौदाबारे देशव्यापी छलफल गर्ने उक्त पार्टीले जनाएको छ।