छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परी दुई जनाको मृत्यु

  Sampatti News Online

January 12, 2024

 चितवन ।  चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।

कार्यालयका अनुसार खैरहनी नगरपालिका-२ चैनपुरचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको बा प्र ०३-००१ च १७२७ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको प्र ०३-०२-००६ प ९०६८ नम्बरको स्कुटरलाई  ठक्कर दिएको थियो । ठक्करबाट घाइते स्कुटर चालक एक पुरुषको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । जिपका चालक फरार भएका छन् ।

यस्तै भरतपुर महानगरपालिका-७ टाइगरचोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-६ रामराज्यपुरका ३५ वर्षीय कुलप्रसाद सापकोटा रहेका छन् । टाइगरचोकबाट बुद्धचोकतर्फ आउँदै गरेको बा प्र ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बिएबी २८७५ नम्बरको कारले बिहीबार राति ठक्कर दिएको हो । घाइते सापकोटाको उपचारका क्रममा राति नै चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । कार चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति:January 12, 2024