पैसाको कुरा नमिल्दा कञ्चनरुपका मेयरले कुटे प्रशासकीय अधिकृत

  Sampatti News Online

January 12, 2024

धनगढी । सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले प्रशासनिक बिववादमा आफुमाथि कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले दाबी गरेका छन् । बजेट खर्चको अख्तियारी, ज्यालादारी कर्मचारीको अवकासलगायतका विषयमा विवाद वढेपछि मेयरले हाकिमलाई कुटपिट गरेका छन् ।

अधिकृत घिमिरेका अनुसार बजेट खर्चको अख्तियारी दिन पटक पटक आग्रह गर्दापनि कानुनसम्मत रुपमा अख्तियारी नदिएको विषयमा बिवाद भएपछि मेयरले उपमेयर मुना कुमारी पोखरेलको कर्यकक्षमा लगेर गाली गर्दै हातपातमा उत्रिएका हुन् ।
हातपातमा उत्रिएलगत्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले अति आवश्यकबाहेकको काम ठप्प पार्दै आन्दोलन नै गरेका छन् । कर्मचारी आन्दोलनसँगै यो विवाद सिडिओ र एसपी कार्यालयसम्म पुग्यो । अन्तत मंगलबार सिडिओ र एसपीको रोहवारमा मेयर र अधिकृत दुबैले अबदेखि पदीय मर्यादाअनुसार काम गर्ने र बजेट खर्चको गाँठो फुकाउने लिखित कागज गरेपछि तत्कालका लागि मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको टसल सकिएको छ ।

तर मेयरले भने यो अभियोग अस्वीकार गरेका छन् । मेयर गुप्ताले भने प्रमुख प्रशाासकीय अधिकृतका कारण नगरपालिकाको काम लथालिंग बनेको बताए । ‘विवाद भएको हो, सोफामा बसेर उनले दुई पटक हात उठाए, मैले यसो नगर्नुस् हाकिमसाव भनेको हो, उसले त मेयरले कुट्यो भनेर हल्लाखल्ला मच्चाएर बबण्डर नै गर्यो,’ मेयर गुप्ताले भने ।

मेयरका अनुसार नगरसभाले ८९ करोडको बजेट पारित गरेको थियो । त्यसपछि बजेट खर्चको अख्तियारी माग्दै अधिकृतले ६४ करोडको बजेटको अख्तियारी मागे । र हाल उनले मेयरसँग ६४ करोड रुपैयाँको बजेटको खर्च गर्ने अख्तियारी माग्दै पत्र लेख्न भनेका कारण विवाद वढेको हो ।

प्रकाशित मिति:January 12, 2024