बेलुकी ८ बजेपछि मदिरा बिक्री बन्दगर्न एस्पी श्रेष्ठको निर्देशन

  Sampatti News Online

January 14, 2024

रौतहट २९ पुस। रौतहट प्रहरी प्रमुख एस्पी महेन्द्र कुमार श्रेष्ठले बेलुकी ८ बजेपछि मदिरा बिक्री वितरण नगर्न अर्थात मदिरा पसल बन्द गर्न निर्देशन दिएका छन्। त्यसैगरी सम्पूर्ण मदिरा पसल दिउँसो १२ बजे पछि मात्र खोल्न पाउने गरी ब्यवस्था मिलाउन एस्पी श्रेष्ठले प्रहरीलाई निर्देशन दिएका हुन्। ईलाका प्रहरी कार्यालय कटहरियाको प्राङ्गणमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रमका प्रमुख अतिथी एस्पी श्रेष्ठले देशको कर्णधार बालबालिकाको उज्ज्वल भविष्यको लागि अभिभावक स्वयं पनि आआफ्नो छोरा छोरीको निगरानी गर्नुपर्ने बिचार राखेका थिए।
पछिल्लो समय कटहरिया क्षेत्रमा अत्यधिक बालबालिका लागुऔषध गाँजाको प्रयोग गरिरहेको प्रती चिन्ता ब्यक्त गर्दै नियन्त्रणको लागि प्रहरीलाई निर्देशन दिएका थिए। उनले महिलालाई कुट गर्ने जस्ता महिला हिंसाको निन्दनीय घटना बढिरहेकाले जाहेरि आएमा कडा कानुनी कार्वाही गर्ने चेतावनी दिएका थिए। एस्पी श्रेष्ठले आफ्नो कार्यकालमा कम्तीमा जिल्लाको ८० स्थानमा सिसिटिभि क्यमरा जडान गर्ने लक्ष्य रहेको बताएका थिए।
सातदशक अघी स्थापना ईलाका प्रहरी कार्यालय कटहरियाको भवन निर्माण हुन नसक्नुमा जग्गा नाममा नहुनु मुख्य कारण रहेको छ।
तथापि जग्गा प्रहरी कार्यालयको नाउँमा ल्याउन जनप्रतिनिधि तथा समाजसेवीले पहल गर्नुपर्ने सुझाव दिएका थिए। एस्पी महेन्द्र कुमार श्रेष्ठले जग्गाधनीले उमाशंकर साह लाई माला लगाई , दोसाला ओढाएर सम्मान गरेका थिए। त्यस्तै ईलाका प्रहरी कार्यालय कटहरियामा जनशक्ति थप गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा मेयर अजयप्रकाश जैसवालले प्रहरी कार्यालयको भवन निर्माणका लागि नगरपालिका बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
ईलाका प्रहरी कार्यालय कटहरियाको प्रमुखको रूपमा केहीदिन अघि मात्र आएका बरिष्ठ सई अरुण कुमार सिंहको सक्रियतामा शौचालय मर्मत, भान्सा ब्यारेक रंगरोगन, प्रतिक्षालय रंगरोगन, थाना प्राङ्गण सरसफाई करेसाबारीको सुरुवात को निरीक्षण गर्दै उनले सराहना गरेका थिए।
सनिवार साँझ सम्पन्न सार्वजनिक सुनवाई कार्यक्रममा एसपी महेन्द्र कुमार श्रेष्ठ, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनाल, कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवाल,उपप्रमुख रिता देवी यादव, पूर्व मेयर सियाराम कुशवाहा , वडा अध्यक्षहरु सर्फलाल गुप्ता, श्यामा कान्त यादव, समिस बिक्रम साह, रुपेश यादव, ब्यापारी नसरुदिन अन्सारी, कांग्रेस नेता बाल्मीकी यादव, उमेश यादव, जग्गाधनी उमाशंकर साह,लगायतको सहभागिता रहेको थियो।
ईलाका प्रहरी कार्यालय कटहरियाली ओगटेको १७ कठा जग्गा मध्ये करिब ८ कठा जग्गा साह दाजुभाईको नाउँमा रहेको छ। स्थानीय चन्दा सहयोग बाट भवन निर्माण भएपछि तत्कालीन प्रहरी संगठन प्रमुख आईजिपी खडगजित बरालले २०२९ सालमा ईलाका प्रहरी कार्यालय कटहरियाको उदघाटन गरेका थिए।

प्रकाशित मिति:January 14, 2024