मुगु सामूहिक बलात्कार प्रकरण: थप दुई जनालाई  १३ दिन थुनामा राख्न अदालतको आदेश चारजना अझै फरार

  Sampatti News Online

January 18, 2024

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेका आरोपीमाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ।

चार महिनाअघि सामूहिक बलात्कार भएको आरोपमा पक्राउ परेका पाँचमध्ये थप दुई जनालाई पनि अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालत मुगुले अनुमति दिएको छ ।

तीनजनालाई मंगलबार नै १३ दिन थुनामा राख्न अनुमति दिइसकेको थियो । बुधबार दुई जनालाई म्याद थप भएपछि अब पक्राउ परेका पाँचैजनालाई १३ दिन थुनामा राखेर घटनाबारे अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी गराए । घटनामा संलग्न भनी जाहेरी परेका अन्य चारजना अझै फरार रहेका र उनीहरूको खोजीकार्य जारी रहेको उनले बताए ।

छायाँनाथ रारा नगरपालिका– १४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी १४ वर्षीया बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया छन् । अन्य तीनजना बालक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:January 18, 2024