टेरामक्स र एमडीएमएसमा ठूलो घोटाला भएको आशंका छानबिन सुरु

  Sampatti News Online

January 19, 2024

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात मगाएको छ। समितिले ती दुवै खरिद प्रक्रियामा ठूलो घोटाला भएको आशंकासहित निर्णय र खरिद प्रक्रियाका सबै कागजात मागेको हो। यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्दै आइरहेको छ।

सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियाका क्रममा विभिन्न १२ क्षेत्रमा अनियमितता भएको उल्लेख गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धान गर्न निर्देशन दिइसकेको अवस्थामा अब सूचना प्रविधि समितिले पनि छानबिन थालेको हो ।

समितिले सरकारलाई एमडीएमएस र टेरामक्ससम्बन्धी कागजात सात दिनभित्र बुझाउन निर्देशन दिएको छ । सञ्चारमन्त्री रेखा शर्मा, मन्त्रालयका सचिव रामकृष्ण सुवेदी र मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन महाशाखा प्रमुख सहसचिव गौरव गिरीसँग छलफलपछि समितिले दुवै प्रकरणका अध्ययन तथा छानबिनका कागजात बुझाउन निर्देशन समितिका सभापति भानुभक्त जोशीले बताए ।

सांसदहरूले सञ्चार मन्त्रालय मातहत रहेको एनसेलको सेयर बिक्रीबारे पनि मन्त्री र सचिवलगायत अधिकारीलाई प्रश्न गरेका थिए । रास्वपा सांसद सुमना श्रेष्ठले एकपछि अर्को प्रकरण दोहोरिइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । दूरसञ्चार प्राधिकरणले ती काम गरेको भनेर मन्त्रालयका अधिकारी पन्छिन नमिल्ने उनको भनाइ थियो ।

‘प्राधिकरणका प्रमुखले राजीनामा दिँदा उहाँलाई तपाईंहरूले निलम्बनमा राखेर छानबिन गर्नुपर्ने हो कि होइन ? पर्याप्त प्रमाण भइसक्यो, यसमा घोटाला भएको छ भनेर भनेपछि किन केही कारबाही गरिरहेका छैनौं ?,’ उनको प्रश्न थियो । एमाले सांसद ईश्वरी घर्तीले कानुन नबन्दै खरिद प्रक्रियाका लागि हतारो गरिएको बताइन् । खरिद प्रकरणमा विवाद भइसकेपछि प्राधिकरणका अध्यक्षले राजीनामा दिँदैमा छुटकारा मिल्छ भनेर उनले प्रश्न गरेकी थिइन् । उनले एमडीएमएस खरिदबारे मन्त्रालयले गरेको छानबिन प्रतिवेदन समितिमा बुझाउन माग गरिन् ।

प्रकाशित मिति:January 19, 2024