January 23, 2024
हेटौंडा। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. क्षतिज श्रेष्ठमाथि कुटपिट भएको छ । कार्यकक्षमै रहेका बेला श्रेष्ठमाथि आइतबार दिउसो कुटपिट भएको हो । कार्यालय सहयोगी शोभा पोडेका श्रीमान रमेश पोडेले श्रेष्ठमाथि कुटपिट गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
कार्यालय सहयोगी शोभालाई करार सेवाबाट निकालेको लगायतको आरोपमा श्रेष्ठसँग कार्यकक्षमै विवाद भएको बताइएको छ । सोही विवादमा पोडेका छोरा आमा लगायतका चार जनाले श्रेष्ठमाथि कुटपिट गरेको प्रजिअ सेडाईले बताए ।
आफूमाथि कार्यकक्षमै कुटपिट भएको भन्दै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. श्रेष्ठले पोडेसहित ४ जनाविरुद्ध जाहेरी दिएका छन् ।
श्रेष्ठले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी उजुरी तथा खाद्य प्रविधि तथा गुण नियन्त्रणको केन्द्रिय कार्यालयमा घटनाबारे जानकारी गराई सकेका छन् ।
प्रहरीले आरोपित पोडेलाई आइतबार नै पक्राउ गरेको भने अरु तीन जना फरार रहेका सेडाईले बताए । आरोपित पोडेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति पनि लिएको छ ।
पोडेकी श्रीमती शोभाको करार सम्झौता गत असोजमै सकिएको जनाइएको छ । फरार अन्य ३ जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:January 23, 2024
November 23, 2024