रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
११ माघ २०८०, बिहीबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध मुद्दा दायर गरिएको हो ।

सामुदायिक विद्यालयका छात्राहरूका लागि आर्थिक वर्ष २०७७/०७८ मा सेनिटरी प्याड वितरण गर्न गाउँपालिकामा विनियोजित बजेटबाट ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने सेनिटिरी प्याड लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साहसमेतको मिलेमतोमा १७ लाख ८५ हजार ९ सय २८ रुपैयाँमा खरिद गरेर अस्वाभाविक रूपमा बढी मूल्य तिरी लाभ लिएको अख्तियारको दाबी छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) को कसुर गरेको देखिएको बताउँदै उनीहरुलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिने र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेको देखिँदा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुने एवम् प्रतिवादीहरुबाट असुल तथा जफत गरिएको बिगो छायाँनाथ रारा नगरपालिका मुगुलाई उपलब्ध गराउने मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।